१२ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, साउनदेखि ढिलासुस्ती अन्त्य हुने
काठमाडौँ, वैशाख १४ । बर्सौंदेखि छाप्न बाँकी रहेका १२ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ सम्पन्न भएको छ। सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीचको पहिलो चरणको सम्झौता अनुसार छापिएका लाइसेन्स वैशाख १४ गते हस्तान्तरण गरिने जनाइएको छ।
केन्द्रका अनुसार दोस्रो चरणमा थप १७ लाख लाइसेन्स छपाइ भइरहेको छ, जसले असार मसान्तसम्म पुरानो २९ लाखको ब्याकलग पूरा गर्ने लक्ष्य राखिएको छ। त्यसपछि साउन १ गतेदेखि लाइसेन्स छपाइमा ढिलासुस्ती अन्त्य हुने र सेवाग्राहीले रसिद बोकेर हिँड्नुपर्ने बाध्यता हट्ने बताइएको छ।
हाल दैनिक छपाइ क्षमता उल्लेखनीय रूपमा बढाइएकाले विगतमा दुई–तीन वर्षसम्म कुर्नुपर्ने समस्या अब समाधान हुने अपेक्षा गरिएको छ। सरकारले दिएको निर्देशनपछि छपाइ प्रक्रिया तीव्र बनाइएको हो।

