देशभर आंशिक बदली, केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं, वैशाख १४ । पश्चिमी तथा स्थानीय वायुसँगै नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशभर आइतबार मौसममा परिवर्तन देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहनेछ। मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिक बदली रहने जनाइएको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै लुम्बिनी प्रदेशका पहाडी भू–भाग र कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने भएकाले तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

