बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा



काठमाडौं, बैशाख १४ — बाढीका कारण केही दिनदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। बैशाख १२ गते शनिबार रोशी खोला मा आएको बाढीले बगाएका डाइभर्सन पुनर्निर्माण गरिएपछि आज दिउँसोबाट राजमार्गमा सवारी आवागमन सुचारु गरिएको हो।

यसअघि हिजो दिउँसो केही स्थानमा डाइभर्सन निर्माण गरिए पनि साँझ परेको वर्षाले ती संरचना पुनः बगाएको थियो। विशेषगरी चिउरीबास, नार्के र चारसय बेँसी क्षेत्रमा बनाइएका अस्थायी डाइभर्सनहरू क्षतिग्रस्त हुँदा यातायात पूर्ण रूपमा प्रभावित बनेको थियो।

सामान्य वर्षाले समेत यातायात अवरुद्ध हुने अवस्थाले यस मार्ग प्रयोग गर्ने यात्रुहरू समस्यामा परेका थिए। सडक डिभिजन कार्यालय भक्तपुर का प्रमुख सुमन योगेशका अनुसार हाल पक्की संरचना निर्माण भइरहेको छ। “अस्थायी रूपमा खोलाबाट डाइभर्सन गरी सवारी सञ्चालन गर्दा समस्या देखिएको हो,” उहाँले भन्नुभयो।

उहाँले छिट्टै स्थायी समाधान हुने विश्वास व्यक्त गर्दै बीपी राजमार्ग पुनर्निर्माणअन्तर्गत पक्की संरचना निर्माण सुरु भइसकेकाले आगामी दिनमा समस्या क्रमशः घट्दै जाने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्