कांग्रेस संसदीय दलको नेता चयनसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने
काठमाडौं, बैशाख १४ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले संसदीय दलको नेता चयन गरेसँगै सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ।
कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे चयन भएसँगै संवैधानिक परिषद ले पूर्णता पाएको हो। परिषद् पूर्ण नहुँदा लामो समयदेखि प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया रोकिएको थियो।
गत फागुन १७ गते तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत को कार्यकाल सकिएपछि फागुन १८ गतेदेखि सर्वोच्च अदालतकी बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल ले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।
संवैधानिक प्रावधानअनुसार नयाँ प्रधानन्यायाधीशको नाम संवैधानिक परिषद्को बैठकबाट सिफारिस गरिन्छ। उक्त सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश, प्रमुख विपक्षी दलका नेता, प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष सदस्य रहने व्यवस्था छ। प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका क्रममा भने कानुन तथा न्याय मन्त्री पनि सदस्यका रूपमा सहभागी हुने प्रावधान छ।
यसअघि नै संसदीय सुनुवाइ समितिले पूर्णता पाइसकेको अवस्थामा अब संवैधानिक परिषद्को बैठक बसेर नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी अघि बढ्ने अपेक्षा गरिएको छ।

