एकैदिन १० जनाको ज्यान लियो विपद्ले, २५ घाइते
काठमाडौं, बैशाख १४ — देशभर पछिल्ला २४ घण्टामा भएका विभिन्न विपद्जन्य घटनाबाट १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ६९ वटा विपद्का घटना भएका थिए। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी चट्याङबाट पाँच जनाको ज्यान गएको हो।
त्यस्तै आगलागीबाट एक, लेक लागेर दुई तथा सर्पदंश र जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएको जानकारी दिइएको छ।
प्राधिकरणका अनुसार २४ घण्टामा चट्याङका मात्रै ३८ वटा घटना भएका छन्, जसमा १९ जना घाइते भएका छन्। ती घटनाबाट करिब ३८ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।
उक्त अवधिमा देशका ५२ जिल्लामा विपद्का घटना भएको जनाइएको छ। यसैबीच, पछिल्ला १४ दिनमा मात्रै विपद्का कारण ३३ जनाको मृत्यु भइसकेको छ भने १२१ जना घाइते भएका छन्। सो अवधिमा कुल ५४४ वटा विपद्का घटना दर्ता भएको प्राधिकरणले जनाएको छ।

