मनोहरा सुकुम्वासी बस्ती पूर्ण रूपमा हटाइयो



काठमाडौं,बैशाख १४– भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्ने मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका सम्पूर्ण संरचना हटाउने काम सम्पन्न भएको छ। मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली जडीबुटी क्षेत्रका ८१० घरटहरा भत्काइएको प्रहरीले जनाएको छ।

भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार उक्त बस्ती हटाउन आइतबार २४ वटा जेसिबी प्रयोग गरिएको थियो। सो क्रममा एक सामुदायिक विद्यालयसहित सबै संरचना भत्काइएको हो।

संरचना हटाउने क्रममा शनिबार साँझ स्थानीय सुकुम्वासी र सुरक्षाकर्मीबीच झडप भएको थियो। ढुङ्गामुढा हुँदा प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।

आइतबार बिहान करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएपछि करिब ८० प्रतिशत बासिन्दाले आफैं बस्ती खाली गरेका थिए। आइतबार र सोमबार भने बस्ती खाली गराउने काम शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।

मनोहरा क्षेत्रको सुकुम्वासी बस्ती हटाइएसँगै सो क्षेत्रको व्यवस्थापन र पुनःस्थापनाबारे सरोकारवालाहरूको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया दिनुहोस्