देशभर मौसममा आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौं,बैशाख १५ । पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशभरको मौसममा परिवर्तन देखिएको छ । सो प्रभावका कारण सोमबार देशका विभिन्न स्थानमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यसैगरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कोशी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि यस्तै प्रकारको वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
यस्तै कोशी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा वा हिमपात हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

