तादी गाउँपालिकामा ‘पूर्ण खोप सुनिश्चितता’ घोषणा, स्वास्थ्यकर्मी सम्मानित
नुवाकोट, वैशाख १५ — तादी गाउँपालिकामा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन प्रमाणीकरण सभा’ कार्यक्रम सम्पन्न भएको छ।गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा मंगलबार उक्त कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक सन्तमान तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुजन शुभ भ्लोन, विभिन्न वडाका अध्यक्षहरू, डा. कैलाशमणि पोखरेल, स्वास्थ्य शाखा प्रमुख बासु श्रेष्ठलगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा खरानीटार अस्पतालका मेडिकल अधिकृत, विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, कार्यपालिका सदस्य तथा गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा पूर्ण खोप सुनिश्चितता अभियानमा योगदान पुर्याउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई धन्यवाद ज्ञापन गर्दै सम्मानपत्र प्रदान गरिएको थियो। साथै, विभिन्न वडाका स्वास्थ्यकर्मीहरूलाई विशेष सम्मानसहित प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गर्नु स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि यसको दिगोपन कायम राख्न सबै सरोकारवालाको सक्रियता आवश्यक रहेकोमा जोड दिएको छ।

