जिउँदो व्यक्तिको मृत्यु दर्ता प्रकरण : वडाध्यक्षसहित चार जना पक्राउ



नवलपरासी (पश्चिम), वैशाख १५ — जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार चौधरीसहित चार जना पक्राउ परेका छन्।

जिल्ला अदालत नवलपरासीले पक्राउपुर्जी जारी गरेपछि उनीहरूलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए।

प्रहरीका अनुसार झुटा विवरण पेश गरी मृत्यु दर्ता गराउने कार्यमा संलग्न नारायणी पारी सुस्तागाउँ निवासी ३१ वर्षीय तारिख मियाँ अन्सारी यसअघि नै पक्राउ परिसकेका छन्। उनले आफ्नो पिताको मृत्यु भएको भन्दै वडा नम्बर ५ मा अर्का ६६ वर्षीय आफन्तको गत वर्ष मङ्सिर ७ गते मृत्यु दर्ता गराएका थिए।

अनुसन्धानका क्रममा मियाँका पिताको भने २०६० सालमै मृत्यु भइसकेको खुलेको छ। मृत्यु दर्ता भएको जानकारी पाएपछि गत वर्ष चैतमा पीडित पक्षले प्रहरीमा जाहेरी दिएका थिए, त्यसपछि मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

मृत्यु दर्ताको मुचुल्कामा साक्षी बसेका ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन् भने अन्य ७ जना फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।

उनीहरूविरुद्ध राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुट्टा विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको कसुरमा मुद्दा दर्ता गरिएको छ। पक्राउ परेकाहरूलाई आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्