हेल्मेटभित्र ब्राउन सुगर लुकाएर ओसारपसार, दुई जना पक्राउ



सुनसरी,बैशाख १५ । सुनसरीमा हेल्मेटभित्र लागुऔषध ‘ब्राउन सुगर’ लुकाएर ओसारपसार गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन्।सीमा क्षेत्रमा प्रहरीले निगरानी कडा बनाएपछि तस्कर तथा कारोबारीले लागुऔषध लुकाउने नयाँ शैली अपनाएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको टोलीले इनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी जाँचका क्रममा लागुऔषध बरामद गरेको हो।लौकहीबाट इटहरीतर्फ जाँदै गरेको को २५ प ५०५५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा चालक १६ वर्षीय युएन लिम्बूले लगाएको हेल्मेटभित्र ५.३५ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न लिम्बूसहित मोटरसाइकलमा पछाडि सवार इटहरीका १८ वर्षीय आशिष बान्तवा राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलसहित दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्