घरदैलोमै राहदानी सेवा विस्तार: १४ जिल्लामा सुरु, लाइसेन्स र अन्य सेवा पनि थपिँदै
काठमाडौं,बैशाख १५ । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म १४ जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागका अनुसार यस अवधिसम्म ३११ जना सेवाग्राहीलाई राहदानी घरमै पुगेर वितरण गरिएको छ।
विभागले गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडी लगायत जिल्लासँग सम्झौता गरी सेवा विस्तार गरिरहेको जनाएको छ। अन्य जिल्लाहरूमा पनि जिल्ला प्रशासन कार्यालयबाट राहदानी प्राप्त भएपछि घरमै वितरण गर्ने प्रक्रिया अघि बढाइएको छ। यसका लागि सबै जिल्ला प्रशासन कार्यालयहरूले सेवाग्राहीको ठेगाना संकलन सुरु गरिसकेका छन्।
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणतर्फ पनि उल्लेखनीय प्रगति भएको छ। २०८३ वैशाख १५ गते दिउँसो ३ बजेसम्ममा २ लाख ५६ हजार १२६ वटा लाइसेन्स हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको विभागले जनाएको छ। मोरङ र कास्की जिल्लामा भने यातायात कार्यालयसँग समन्वय गरी लाइसेन्स घरमै पुर्याउने सेवा पनि सुरु गरिएको छ।
यसैबीच, हुलाक सेवा विभागले अन्य क्षेत्रमा समेत सेवा विस्तारको तयारी तीव्र पारेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग प्रयोगशाला नमुना ढुवानी सम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको छ भने नेपाल टेलिकमसँग सिमकार्ड घरदैलोमा पुर्याउने विषयमा प्राविधिक तयारी सुरु गरिएको छ।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयसँग प्रमाणपत्र ढुवानीका लागि दोस्रो चरणको छलफल सम्पन्न भइसकेको छ भने मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरु भइसकेको विभागले जनाएको छ। राहदानी विभागसँग प्रणाली अन्तरआवद्धताका लागि अध्ययन समिति गठन र महालेखा नियन्त्रक कार्यालयसँग प्रणाली एकीकरणका लागि पहल भइरहेको छ।
सरकारले गत चैत १३ गते सार्वजनिक गरेको १०० दिने कार्यसूचीअनुसार हुलाक सेवालाई आधुनिकीकरण गरी “Government Courier Service” का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच समन्वय भइरहेको छ।
सञ्चार मन्त्री डा. बिक्रम तिमिल्सिनाले सेवा कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूलाई सहकार्य र समस्या समाधानमा सक्रिय रहन निर्देशन दिएका छन्।

