सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
काठमाडौं,बैशाख १५ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
आज भएको भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय र अन्तरराष्ट्रिय विषयमा विचार आदानप्रदान भएको सभामुखको सचिवालयले जनाएको छ । भेटका क्रममा सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ‘एक चीन नीति’प्रति नेपालको पूर्ण प्रतिबद्धता दोहो¥याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो ।
सभामुख अर्यालले वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा प्रविधि प्रवर्द्धनमा केन्द्रित रहेको बताउँदै यसमा चीन सरकारको साथ र सहयोग अपेक्षित रहेको उल्लेख गर्नुभयो । साथै, सरकारले अघि सारेको १०० बुँदे कार्ययोजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै राजनीतिक संक्रमणकालमा चीनले देखाएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले सङ्घीय संसद्का दुवै सदन, संसदीय समिति तथा मैत्री समूहमार्फत अन्तरसंसदीय सहकार्य विस्तार गरिने प्रतिबद्धता जनाउँदै आफ्नो कार्यकालमा प्रभावकारी संसदीय अभ्यास अघि बढाइने बताउनुभयो । सन् २०२२ डिसेम्बर १२ मा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच भएको समझदारी कार्यान्वयन गर्दै विधायिकी निकायबीच सहकार्य बढाइने उहाँको भनाइ थियो ।
सभामुख अर्यालले व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाका स्तरोन्नति तथा कनेक्टिभिटी सुदृढीकरणमा जोड दिँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ कार्यान्वयनमा तीव्रता दिनुपर्ने धारणा राख्नुभयो । साथै, बहुपक्षीय मञ्चमा सहकार्य, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध विस्तारमा नेपाल प्रतिबद्ध रहेको बताउनुभयो ।
त्यस अवसरमा राजदूत माओमिङले सभामुखसँगको भेटलाई महत्त्वपूर्ण अवसरका रूपमा लिँदै चीनको राष्ट्रिय जनकंग्रेसका तर्फबाट शुभकामना सन्देश तथा बधाईपत्र हस्तान्तरण गर्नुभयो । उहाँले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्नुभयो ।
राजदूत माओमिङले चीनले नेपाललाई महत्त्वपूर्ण छिमेकीका रूपमा लिँदै आएको बताउँदै नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मानमा निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।उहाँले चीन–नेपाल सहकार्यअन्तर्गत पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन तथा विकास परियोजनामा सहकार्य विस्तार गर्न चीन तयार रहेको बताउँदै सङ्घीय संसद् सचिवालयलाई विद्युतीय सवारीसाधन सहयोग गरिएको जानकारी दिनुभयो । साथै, सभामुख, सांसद तथा संसदीय पदाधिकारीलाई चीन भ्रमणको निम्तासमेत दिनुभयो ।
भेटका क्रममा दुवै पक्षले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउँदै संसदीय, आर्थिक, प्राविधिक तथा जनस्तरका सहकार्य विस्तार गर्ने सहमति जनाएका छन् । साथै, शान्ति, स्थायित्व र साझा समृद्धिका लागि क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चमा सहकार्य बढाउनेमा जोड दिएका छन् ।

