आज तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह
काठमाडौं, वैशाख १६— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आज बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्राधिकरणले मंगलबार जारी गरेको सूचनाअनुसार कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हावाहुरीको प्रभाव पर्नेछ। जल तथा मौसम विज्ञान विभाग का अनुसार कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहितका क्षेत्र, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची तथा सुदूरपश्चिमका डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ।
विभागले बुधबार साँझ ५:४५ बजेदेखि हावाहुरी सुरु भई बिहीबार बिहान ७:४५ बजेसम्म रहने प्रक्षेपण गरेको छ। साथै मेघगर्जन, चट्याङ, असिना र वर्षासहितको मौसम प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने सम्भावना रहेको जनाएको छ।
तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, घरका छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको प्राधिकरणले जनाएको छ। यस अवधिमा प्रभावित क्षेत्रका बासिन्दा तथा त्यहाँ यात्रा गर्ने व्यक्तिलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
हावाहुरीका बेला अनावश्यक रूपमा घरबाहिर ननिस्कन, झ्यालढोका मजबुत रूपमा बन्द गर्न र जस्तालगायतका कमजोर छाना भए बलियो बनाउन सुझाव दिइएको छ। यस्तै, आगो प्रयोग गर्दा सावधानी अपनाउन, अग्ला रुख, कमजोर संरचना, खम्बा तथा बिजुलीका तार नजिक नबस्न र लत्रिएका तार नछुन पनि अनुरोध गरिएको छ।
उडाएर आएका वस्तुबाट चोटपटक लाग्ने जोखिम हुने भएकाले सचेत रहन तथा मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिन प्राधिकरणले आग्रह गरेको छ।

