संविधान संशोधन बहस तीव्र: कार्यदलद्वारा विज्ञसँग परामर्श



काठमाडौँ, वैशाख १६ — संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले औपचारिक संवादलाई तीव्र बनाउँदै कानुनविद् र सरोकारवालासँग परामर्श सुरु गरेको छ। असीम शाहको संयोजकत्वमा रहेको कार्यदलले प्राप्त सुझावका आधारमा बहसपत्र तयार गर्ने तयारी गरेको छ।

छलफलमा संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै सुधारका आवश्यक पक्षबारे सुझाव संकलन गरिएको छ।सहभागीहरूले संविधानका सबल पक्ष जोगाउँदै व्यावहारिक जटिलता समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

विज्ञहरूले सङ्घीयता सुदृढीकरण, समावेशिताको प्रभावकारी कार्यान्वयन, शासकीय स्वरूपमा सन्तुलन र प्रशासनिक सुधारका विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। साथै राजनीतिक नियुक्ति नियन्त्रण, संवैधानिक निकाय सुदृढीकरण र निर्वाचन प्रणाली सुधारको आवश्यकता औँल्याइएको छ।

कार्यदलले दुई महिनाभित्र बहसपत्र तयार गरी सरकारलाई बुझाउने लक्ष्य लिएको छ। सरकारले संविधान संशोधनका लागि बहुपक्षीय छलफललाई प्राथमिकता दिँदै प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्