१५ दिनमै ३४ जनाको ज्यान गयो: विपद्का ६१६ घटना, अर्ब नजिक क्षति



काठमाडौँ, वैशाख १६  । पछिल्लो १५ दिनमा मुलुकभर विभिन्न प्राकृतिक विपद्का घटनामा ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १६ गतेसम्म देशभर ६१६ वटा विपद्का घटना घटेका हुन्।

प्राधिकरणका तथ्याङ्कअनुसार उक्त अवधिमा ८२९ परिवार प्रभावित भएका छन्। विपद्का कारण २५० घरमा आंशिक तथा ६५ घरमा पूर्ण क्षति पुगेको छ। साथै ७८ गोठमा क्षति पुगेको छ भने २१३ वटा पशुचौपाया नष्ट भएका छन्। ती घटनाबाट करिब १० करोड ९२ लाख ५५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

घटनाको प्रकृतिअनुसार आगलागी सबैभन्दा बढी देखिएको छ।आगलागीका मात्रै २६७ घटना हुँदा आठ जनाको मृत्यु भएको छ र झण्डै ९ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, चट्याङका ७४ घटनामा नौ जनाको ज्यान गएको छ भने ४९ जना घाइते भएका छन्। हुरीका ४४ घटनाले ३१९ परिवार प्रभावित भएका छन् र करिब ८३ लाख रुपैयाँ क्षति पुगेको छ।

अन्य विपद्का घटनामा सर्पदंश, जनावरको आक्रमण, जङ्गल डढेलो, पहिरो, भारी वर्षा तथा बाढीसमेत रहेका छन्। जङ्गल डढेलोका १२८ घटनामा मानवीय क्षति कम भए पनि भौतिक क्षति उल्लेखनीय रहेको जनाइएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले सुक्खा मौसम, तापक्रम वृद्धि तथा मानवीय लापरवाहीका कारण आगलागी र डढेलोका घटना बढ्दै गएको बताउँदै विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, जनचेतना र प्रभावकारी व्यवस्थापन आवश्यक रहेकोमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्