विदुरका योजना प्रदेशस्तरमा प्रस्तुत, वन तथा वातावरण क्षेत्रमा थप बजेट माग
नुवाकोट, वैशाख १६ — आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा सम्बन्धी कार्यक्रम डिभिजन वन कार्यालय नुवाकोटमा सम्पन्न भएको छ। कार्यक्रम बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीको प्रमुख आतिथ्यतामा आयोजित गरिएको थियो।
कार्यक्रममा विदुर नगरपालिकाको तर्फबाट नगरप्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित हालसम्म सम्पादन भएका योजना तथा कार्यक्रमबारे जानकारी गराएका थिए। साथै, कार्यक्रम सञ्चालनका क्रममा भोग्नुपरेका समस्या र चुनौतीहरूबारे समेत मन्त्रीसमक्ष प्रस्तुत गरिएको थियो।
नगरप्रमुख श्रेष्ठले आगामी आर्थिक वर्षका लागि आवश्यक योजना, कार्यक्रम तथा बजेटको विस्तृत विवरण पनि पेश गर्दै विदुर नगरपालिकामा वन संरक्षण, वातावरणीय सन्तुलन र दिगो विकासका लागि थप स्रोत आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रमेशकुमार महत, जिल्ला समन्वय समिति तथा विभिन्न स्थानीय तहका प्रमुख–उपप्रमुखहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले वन तथा वातावरण क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

