गुरुङमाथि छानबिन प्रक्रिया छिट्टै सुरु हुने : रवि लामिछाने
काठमाडौँ, वैशाख १६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन प्रक्रिया अघि बढ्ने बताउनुभएको छ।
बुधबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गुरुङमाथि उठेका प्रश्नबारे छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी दिनुभयो। उहाँका अनुसार छानबिन कुन ढाँचाबाट गर्ने भन्ने विषयमा भने अझै टुङ्गो लागिसकेको छैन।
सभापति लामिछानेले गुरुङले आफूमाथि लागेको आरोपबारे निष्पक्ष छानबिनको माग गरेको उल्लेख गर्दै नैतिकताका आधारमा छानबिन प्रक्रिया अघि बढ्ने बताउनुभयो। “छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ, त्यो कस्तो प्रकारको हुन्छ भन्ने जानकारी तपाईँहरूले पाइहाल्नुहुन्छ,” उहाँले भन्नुभयो।
विवादित व्यवसायी दीपक भट्टसँग अनुचित कारोबार गरेको आरोप लागेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। अहिले उक्त प्रकरणमा औपचारिक छानबिन प्रक्रिया सुरु हुने तयारी भइरहेको बताइएको छ।

