काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, वैशाख १६ । काठमाडौँ उपत्यकामा बुधबार साँझदेखि हावाहुरीसहित वर्षा भएको छ । उपत्यकासहित देशका विभिन्न जिल्लाबाट पनि हावाहुरी र वर्षा भएको खबर प्राप्त भएका छन् ।
केही जिल्लामा तीव्र गतिको हावाहुरीका कारण जस्ताका छाना उड्नुका साथै विद्यालय भवनलगायत संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ । हावाहुरीका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित बनेको छ ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले देशका विभिन्न स्थानमा आज तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार आज साँझदेखि कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हावाहुरीको प्रभाव बढी रहने भएकाले सुरक्षित स्थानमा बस्न, कमजोर संरचनाबाट टाढा रहन तथा अनावश्यक बाहिर ननिस्कन अनुरोध गरिएको छ ।

