रामेछाप कांग्रेस सभापति तामाङ निलम्बित, अनुशासन छानबिन तीव्र



काठमाडौँ,बैशाख १६। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट निलम्बन गरेको छ। ललितपुरको विपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको समितिको बैठकले अनुशासन उल्लङ्घनको आरोपमा अनुसन्धान नसकिँदासम्मका लागि तामाङलाई सभापति पदबाट हटाउने निर्णय गरेको हो।

समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले पार्टी नेतृत्वविरुद्ध बदनियतपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा तामाङसँग यसअघि स्पष्टीकरण मागिएको उल्लेख गरेको छ।वैशाख ७ गते सोधिएको स्पष्टीकरणमा तामाङले त्यस्तो अभिप्राय नरहेको बताए पनि समितिले उक्त जवाफ प्रारम्भिक रूपमा असन्तोषजनक ठहर गरेको जनाएको छ।

तामाङलाई पदमा यथावत् राख्दा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने ठहर गर्दै कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ (८) (ङ) र नियमावली २०७६ को नियम २८ (३) अनुसार आजकै मितिदेखि लागू हुने गरी कामकाज गर्न नपाउने निर्णय गरिएको हो।

यसैबीच, अनुशासन समितिले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सम्बन्धित स्पष्टीकरणको विषय भने तामेलीमा राख्ने निर्णय गरेको छ। गत वैशाख २ गते सोधिएको स्पष्टीकरण वैशाख ४ गते सर्वोच्च अदालतको फैसलापछि औचित्यहीन बनेको भन्दै उक्त प्रक्रिया हाललाई स्थगित गरिएको समितिले जनाएको छ।

समितिले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन उल्लङ्घनका घटनामाथि पनि छानबिन तीव्र बनाउने निर्णय गरेको छ। उजुरीहरूको वर्गीकरण सम्पन्न भइसकेकाले आरोपित व्यक्तिहरूबाट सात दिनभित्र स्पष्टीकरण मागिने र त्यसका लागि ह्वाट्सएप, इमेल, भाइबर, मेसेन्जर, हुलाक तथा कुरियरमार्फत सूचना पठाइने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्