आज राति भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, वैशाख १६ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बुधबार राति देशका विभिन्न भूभागमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज राति तीव्र मौसम सक्रिय भई भारी वर्षा हुन सक्नेछ ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्र सक्रिय रहेकाले मौसम बदली भएको जनाइएको छ ।
बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी र मधेस प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, शुक्रबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ भने सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
महाशाखाले विशेषगरी तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको उल्लेख गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

