एक्काइस महिना देखाएर समापन गरियो हनुमान नाच
बागलुङ,बैशाख १७ । नेवार समुदायमा करिब तीन सय वर्षदेखि चल्दै आएको हनुमान नाच २१ महिनापछि बागलुङमा विधिवत् रूपमा समापन गरिएको छ। विसं २०८१ भदौ ११ गते सुरु भएको नाच १९ पटक प्रदर्शन गरी हनुमान पौवामा पुगेर समापन गरिएको हो।
हनुमानको स्वरूप धारण गरेका १३ जोडी युवाले विभिन्न तालमा नाच प्रस्तुत गर्दै परम्परा जोगाउँदै आएका छन्। यसपटक ४२ युवाको सहभागिता रहेको थियो। नाच रामायणमा आधारित रहेको र मल्लकालदेखि भक्तपुरबाट सुरु भई बागलुङमा संरक्षण गरिएको इतिहास छ।
खर्चिलो र व्यवस्थापन चुनौतीका कारण पहिले तीन वर्षमा देखाइने नाच अहिले नौ वर्षमा प्रदर्शन हुँदै आएको छ। समापन कार्यक्रममा सहभागी कलाकार तथा सम्बन्धित व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

