कुकुरको आक्रमणले चिडियाखानामा चार चित्तलको मृत्यु, जीर्ण संरचनामाथि प्रश्न



नेपालगन्ज, वैशाख १७ । नेपालगन्ज उपमहानगरपालिका–८ स्थित महेन्द्र पार्कभित्र रहेको चिडियाखानामा बाहिरबाट छिरेका कुकुरको आक्रमणबाट चार वटा चित्तल मरेका छन्।

चिडियाखानाका चौकीदार हरि घरुकका अनुसार करिब छ वटा कुकुर पूर्वतर्फको पर्खाल नाघेर खोरभित्र पसेका थिए। आक्रमणमा दुई पोथी, एक भाले र एक बच्चा चित्तल मरेका हुन्।

घरुकले यसअघि पनि कुकुरले अष्ट्रिचलाई घाइते बनाएको स्मरण गराउँदै पर्खाल कमजोर भएकोबारे पटक–पटक जानकारी गराए पनि सुनुवाइ नभएको बताउनुभयो।

स्थानीयका अनुसार चिडियाखानाको पर्खाल होचो र जीर्ण अवस्थामा रहेकाले कुकुर तथा अन्य जनावर सजिलै भित्र प्रवेश गर्ने गरेका छन्। घटनापछि उपमहानगरपालिकाले विषय लुकाउने प्रयास गरेको आरोपसमेत लागेको छ।

चिडियाखाना नजिकका शकील अन्सारीले मृत चित्तलको पोस्टमार्टम नगरी गाडिएको दाबी गर्दै मृत्युको कारणबारे शङ्का उत्पन्न भएको बताउनुभयो। तर उपमहानगरपालिकाले सामान्य मुचुल्का तयार गरी चित्तल गाडिएको जनाएको छ।

स्थानीयले हरेक वर्ष मर्मतका लागि बजेट विनियोजन भए पनि प्रभावकारी काम नभएको गुनासो गरेका छन्। सुरेश गुप्ताका अनुसार गत आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन भएको भनिए पनि कामबारे स्पष्ट जानकारी छैन।

करिब २० वर्षअघि निर्माण गरिएको पर्खाल र खोरका जालीहरू अहिले जीर्ण भइसकेका छन्। जनावरको उचित हेरचाह नहुँदा आलोचना बढ्दै गएको छ। संरक्षण गर्न नसक्ने अवस्थामा जनावरलाई प्राकृतिक बासस्थानमै फर्काउनुपर्ने माग स्थानीयले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्