आइतबार पनि विद्यालय खुल्ने नुवाकोट लिखु गाउँपालिकाको निर्णय
नुवाकोट, वैशाख १७ – नुवाकोटको लिखु गाउँपालिकाले आइतबार समेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै सो जानकारी गराएको हो।
जारी सूचनाअनुसार गाउँपालिकाभित्रका अधिकांश विद्यालयमा सवारी साधनको प्रयोग नहुने र हप्तामा दुई दिन बिदा हुँदा वार्षिक कार्यघण्टा नपुग्ने सरोकारवालाहरूको सुझावका आधारमा यस्तो निर्णय गरिएको हो। गाउँकार्यपालिकाको आज वैशाख १७ गते बसेको बैठकले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ।
गाउँपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालयलाई अनुरोध गरेको छ।
यसअघि नुवाकोटकै शिवपुरी, तादी र तार्केश्वर नगरपालिकाले समेत केन्द्र सरकारको मान्यता विपरीत आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेका छन्।


