रोल्पा जलजलामा तीर्थयात्री बोकेको जीप दुर्घटना: १५ जनाको मृत्यु
रोल्पा,बैशाख १७ । रोल्पाको जलजलामा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ। रुकुमपूर्वबाट पूजा गर्न जलजलातर्फ जाँदै गरेका तीर्थयात्री सवार जीप बिहीबार दिउँसो दुर्घटनामा परेको हो।
जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमका अनुसार जीपमा सवार १७ जनामध्ये १५ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाबाट सहचालक र एक जना यात्रु हाम फालेर ज्यान जोगाउन सफल भएका छन्।
मृतकहरूको पहिचान भने हालसम्म खुल्न सकेको छैन। गौतमका अनुसार घटनास्थलतर्फ टोली खटिइसकेको छ र विस्तृत विवरण आउन बाँकी रहेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापा नेपालीले रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जीप थवाङ गाउँपालिका–१ सल्याप क्षेत्रमा सडकबाट करिब ८ सय मिटर तल खसेको जानकारी दिनुभयो।
वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने बराह पूजामा सहभागी हुन तीर्थयात्रीहरू गइरहेका थिए। तर अत्यधिक वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

