काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने दोस्रो चरण सुरु, बल्खुमा पुग्यो डोजर



काठमाडौं,बैशाख १८ । काठमाडौं उपत्यकामा नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाउने सरकारी अभियान अन्तर्गत दोस्रो चरण आजदेखि सुरु भएको छ।

यसै क्रममा आज बिहानैदेखि बल्खु क्षेत्रमा डोजर परिचालन गरिएको छ। घरटहरा भत्काउने कार्य अघि बढाइँदा सो क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ भने स्थानीय बासिन्दाहरू अझै सामान सार्ने क्रममा देखिएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना जारी गर्दै बिहीबार साँझसम्म बस्ती खाली गर्न अल्टिमेटम दिएको थियो।प्रशासनको उक्त निर्देशनपछि प्रभावित क्षेत्रका बासिन्दाहरूले धमाधम सामान सार्न थालेका थिए, जुन क्रम आज बिहानसम्म पनि जारी रहेको छ।

सरकारले आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु र माछापोखरी लगायतका क्षेत्रमा अतिक्रमित जग्गा खाली गर्ने तयारी गरेको जनाएको छ। यसअघि पहिलो चरण अन्तर्गत सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्