देशभर बदली, मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं,बैशाख १८ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न भागमा मौसम बदली भई वर्षा भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने अन्य क्षेत्रहरूमा आंशिक बदली देखिएको छ। बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने सम्भावना छ। तराई क्षेत्रमध्ये लुम्बिनी र सुदूरपश्चिमका भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी र मधेश प्रदेशका साथै देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
त्यसैगरी आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

