बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
काठमाडौं,बैशाख १८ । २५७०औँ बुद्ध जयन्तीका अवसरमा आज स्वयम्भू र बौद्धनाथ स्तूप सहित काठमाडौँ उपत्यकाका विभिन्न बौद्ध गुम्बामा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।
यस अवसरमा बौद्ध क्षेत्रहरूमा विशेष पूजा–आराधना, प्रवचन, दीप प्रज्वलन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। स्वयम्भूस्थित आनन्द कुटी विहार मा भगवान् बुद्धसँग सम्बन्धित अस्तु धातु दर्शनका लागि सार्वजनिक रूपमा राखिएकाले त्यहाँ दर्शनार्थीको लामो लाइन लागेको छ।
बौद्ध गुम्बाहरूमा भिक्षु तथा भिक्षुणीद्वारा शान्तिपाठ, ध्यान साधना र परिक्रमा कार्यक्रम सञ्चालन गरिएको छ। बौद्धनाथ क्षेत्र मा भक्तजनले दीप प्रज्वलन गर्दै शान्ति र समृद्धिको कामना गरेका छन्।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती सिद्धार्थ गौतम बुद्ध को जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणसँग सम्बन्धित पवित्र दिनका रूपमा मनाइन्छ। अहिंसा, करुणा र मध्यम मार्गको सन्देश दिनुभएका बुद्धका शिक्षाले विश्व शान्ति स्थापना तथा मानवतावादी मूल्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याएको मानिन्छ।
इतिहास अनुसार आजभन्दा करिब २५७० वर्षअघि राजा शुद्धोधन र रानी मायादेवी को गर्भबाट बुद्धको जन्म भएको थियो। उहाँले बोधगया मा ज्ञान प्राप्त गरी सारनाथ मा पहिलो धर्मचक्र प्रवर्तन गर्नुभएको थियो भने कुशीनगर मा महापरिनिर्वाण प्राप्त गर्नुभएको इतिहासमा उल्लेख छ।
यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने विभिन्न संघसंस्था तथा धार्मिक निकायले देशभर शान्ति, सद्भाव र सहिष्णुता प्रवर्द्धन गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गरेका छन्।

