“भ्रष्टतन्त्र अन्त्य गर्दा निजी क्षेत्र हतोत्साही हुँदैन” — सञ्चारमन्त्री मन्त्री तिमिल्सिना



काठमाडौं,बैशाख १८ ।  नेपाल सरकारका सञ्चार मन्त्री डाक्टर बिक्रम तिमिल्सिना ले निजी क्षेत्रप्रति सरकार नकारात्मक रहेको आरोपप्रति कडा प्रतिक्रिया जनाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भ्रष्टतन्त्र, बिचौलियातन्त्र र कमिसनतन्त्र अन्त्य गर्ने प्रयासलाई निजी क्षेत्रविरोधी भन्न नमिल्ने बताएका छन्। “के भ्रष्टतन्त्र अन्त्य गर्दा निजी क्षेत्र हतोत्साही हुनुपर्छ?” भन्दै उनले प्रश्न उठाएका छन्।

मन्त्री तिमिल्सिनाले पारदर्शी लगानी, स्वच्छ प्रतिस्पर्धा र नीतिमा आधारित व्यवसायिक वातावरण नै वास्तविक निजी क्षेत्रमैत्री शासन भएको उल्लेख गरेका छन्। उनले राजनीतिक पहुँच, सेटिङ र अनौपचारिक प्रभावको युग समाप्त हुँदै गएको दाबी गरे।

उनका अनुसार अब क्षमता, प्रतिस्पर्धा र विश्वासका आधारमा अघि बढ्ने समय आएको छ। “इमानदार र दीर्घकालीन व्यवसाय गर्न चाहनेका लागि नेपालमा नयाँ सम्भावनाको ढोका खुल्दैछ,” उनले बताएका छन्।

सरकारको उद्देश्य निजी क्षेत्रलाई निरुत्साहित गर्नु नभई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी वातावरण निर्माण गर्नु रहेको स्पष्ट पार्दै उनले प्रशासनिक प्रक्रिया सरलीकरण, कानुनी सुधार र डिजिटल प्रणाली विस्तारमा सरकार सक्रिय रहेको जानकारी दिएका छन्।

मन्त्री तिमिल्सिनाले अन्त्यमा लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै निष्पक्ष प्रतिस्पर्धा, समान नीति र आर्थिक समृद्धिलाई प्राथमिकता दिने नयाँ आर्थिक संस्कृतितर्फ देश अघि बढिरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्