डिजिटल नेपाल निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं, वैशाख,बैशाख १९— सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री तिमिल्सिनाले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तीकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता बनिसकेको उल्लेख गर्नुभयो।
उहाँले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी, नवप्रवर्तक, प्राविधिक जनशक्ति, स्टार्टअप समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालामा शुभकामना व्यक्त गर्दै डिजिटल रूपान्तरणमा सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।सरकारले ‘डिजिटल नेपाल’ अवधारणालाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा काम गरिरहेको मन्त्री तिमिल्सिनाको भनाइ छ। नागरिक ‘एप’लाई सुदृढ बनाउँदै एउटै डिजिटल प्लेटफर्ममार्फत अत्यावश्यक सेवाहरु सहज रूपमा उपलब्ध गराउने व्यवस्था विस्तार भइरहेको उहाँले जानकारी दिनुभयो।
नेपाललाई डिजिटल नवप्रवर्तन, सूचना प्रविधि सेवा, डेटा अर्थतन्त्र तथा एआईको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित राष्ट्रिय एआई नीति, साइबर सुरक्षा नीति तथा कानुनी र संस्थागत संरचनामा सुधारलाई तीव्रता दिइएको पनि उहाँले बताउनुभयो।
देशभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट विस्तार, सरकारी डेटा सेन्टर तथा डिजास्टर रिकभरी प्रणाली सुदृढीकरण, डिजिटल साक्षरता वृद्धि र दक्ष जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन घटाउँदै समावेशी डिजिटल विकास सुनिश्चित गर्ने सरकारको योजना रहेको उहाँले स्पष्ट पार्नुभयो।
मन्त्री तिमिल्सिनाले सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना, युवा प्रतिभा प्रवद्र्धन, स्टार्टअप विकास तथा राष्ट्रिय अर्थतन्त्रको नयाँ वृद्धि इन्जिनका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको उल्लेख गर्दै डिजिटल रूपान्तरणमा निजी क्षेत्र, प्राज्ञिक संस्था, विकास साझेदार, सञ्चारमाध्यम र नागरिकको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। “समृद्ध, आधुनिक र डिजिटल नेपाल निर्माणको साझा यात्रामा सबैलाई हातेमालो गर्न हार्दिक आह्वान गर्दछु,” उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ।

