काठमाडौँमा नदी किनारका अतिक्रमित वस्ती हटाउने अभियान जारी
काठमाडौँ,बैशाख १९ — काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि निरन्तर जारी राखिएको छ। सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका को समन्वयमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारका घरटहरा हटाइँदैछन्।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल का अनुसार कामपा–१५ स्वयम्भू क्षेत्रसहित विभिन्न स्थानमा अतिक्रमित संरचना हटाउने काम जारी रहेको छ। उहाँले स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाइँदै रहेको जानकारी दिनुभयो।
यसअघि शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा पनि नदी किनारका जोखिमयुक्त वस्ती हटाइएको थियो। हालसम्म काठमाडौँ उपत्यकाभित्र सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनाइएका करिब दुई हजार घरटहरा हटाइसकिएको जनाइएको छ।
वस्ती हटाउने क्रममा प्रभावित परिवारलाई अस्थायी रूपमा ‘होल्डिङ सेन्टर’ मा राखिएको प्रशासनले जनाएको छ।

