आज देशभर मौसम बदली: चट्याङ, हावाहुरी र भारी वर्षाको चेतावनी
काठमाडौं,बैशाख २० । आज आइतबार देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। साथै, बाँकी तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको जनाइएको छ।
रातिको समयमा भने देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
विशेषगरी लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

