सरकारको निर्णय नमानी विद्यालय खोल्ने स्थानीय तहका प्रमुखसँग शिक्षामन्त्रीले भोलि छलफल गर्ने
काठमाडौँ,बैशाख २० — विद्यालय शिक्षामा पछिल्लो समय देखिएको अन्योल समाधान गरी स्पष्ट रणनीति तय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने भएको छ।
विद्यार्थी भर्ना प्रक्रिया, मापदण्ड विपरीत लिइने शुल्क तथा वार्षिक शैक्षिक क्यालेण्डरजस्ता विषयमा स्पष्टता ल्याउने उद्देश्यसहित सरकारले सोमबार स्थानीय तह र सम्बन्धित निकायसँग छलफल गर्न लागेको हो।
सिंहदरबारस्थित मन्त्रालयमा हुने उक्त छलफलमा काठमाडौँ उपत्यकाका महानगरपालिकाका प्रमुखहरू, स्थानीय सरकारका प्रतिनिधि तथा उच्च सरकारी अधिकारीहरूको सहभागिता रहने मन्त्रालयले जनाएको छ।
छलफलमा सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षता रहनेछ। साथै, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, नेपाल नगरपालिका संघका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षलगायत सहभागी हुनेछन्। गृह मन्त्रालय र शिक्षा मन्त्रालयका उच्च अधिकारीहरू पनि उपस्थित रहने जनाइएको छ।
केही संस्थागत विद्यालयहरूले कानुनविपरीत शैक्षिक सत्र २०८३ सुरु हुनु अगावै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुल्ने गरेको गुनासो बढेपछि मन्त्रालयले हालै त्यस्तो गैरकानुनी शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो।
संघीय सरकारले वैशाख १५ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न र वैशाख २१ गतेदेखि पठनपाठन सञ्चालन गर्न निर्देशन दिए पनि काठमाडौँ उपत्यकाका स्थानीय तहहरूले भने वैशाख ११ गतेदेखि नै भर्ना अभियान सुरु गरी वैशाख १५ गतेदेखि नियमित कक्षा सञ्चालन गराउन निर्देशन दिएका थिए।
यही फरक–फरक निर्णयका कारण उत्पन्न अन्योल हटाउन सरकारले सरोकारवालाबीच समन्वय र स्पष्ट नीति बनाउने तयारी गरेको मन्त्रालयले जनाएको छ।

