भैरहवामा फोहोर व्यवस्थापन संकट : सहर दुर्गन्धित, विकल्पको खोजीमा नगरपालिका
भैरहवा,बैशाख २० । रूपन्देहीको भैरहवा भारतीय सीमाबाट पैदलमार्ग हुँदै नेपाल प्रवेश गर्ने प्रमुख सहरका रूपमा परिचित छ। विशेषगरी लुम्बिनी भ्रमणमा आउने भारतीयसहित तेस्रो मुलुकका पर्यटकहरू स्थल नाका बेलहियाबाट भैरहवा हुँदै प्रवेश गर्छन्। तर पछिल्लो समय सहरमा फोहोर नउठ्दा वातावरण दुर्गन्धित बन्दै गएको छ।
बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार मानिने भैरहवा अहिले फोहोरका कारण कुरूप देखिन थालेको छ। करिब डेढ हप्तादेखि फोहोर संकलन हुन नसक्दा मुख्य राजमार्ग, चोक तथा भित्री गल्लीहरूमा फोहोरका थुप्रो देखिन्छन्। घरघरबाट संकलन गरिएको फोहोर सडक किनारमा असरल्ल फालिँदा गर्मीका कारण तीव्र दुर्गन्ध फैलिएको छ।
सिद्धार्थनगर नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको डन्डा नदी किनारमा फोहोर नफाल्न सर्वोच्च अदालतले वैशाख ४ गते आदेश दिएपछि समस्या झन् जटिल बनेको हो। आदेशपछि वैकल्पिक स्थान नहुँदा फोहोर उठाउने कार्य ठप्पजस्तै भएको छ। यसले सहरमा सरसफाइको अवस्था बिग्रँदै जाँदा रोग संक्रमणको जोखिमसमेत बढेको भन्दै स्थानीय चिन्तित छन्।
हाल नगरपालिकाले अस्थायी रूपमा प्लास्टिकमा फोहोर बाँधेर सडक किनारमा थुपार्ने उपाय अपनाएको छ भने व्यवसायीहरूलाई आफ्नै फोहोर आफैं व्यवस्थापन गर्न आग्रह गरिएको छ। तर यस्तो व्यवस्था दीर्घकालीन नभएको भन्दै व्यवसायीहरू असन्तुष्ट छन्।
भैरहवामा दैनिक करिब २० टन फोहोर संकलन हुने भए पनि व्यवस्थापन नहुँदा बजार क्षेत्रभरि फोहोर छरिएको छ। नगरपालिकाले स्थानीयलाई कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरे पनि यसले मात्रै समस्या समाधान हुन नसक्ने देखिन्छ।
यसअघि सिद्धार्थनगर नगरपालिकाले ओमसतियामा ६ बिघा जमिन खरिद गरेर फोहोर व्यवस्थापन गर्ने योजना अघि बढाएको थियो। तर स्थानीयको विरोधका कारण योजना कार्यान्वयन हुन सकेन, जसका कारण एसियाली विकास बैंकले उपलब्ध गराएको ३२ करोड रुपैयाँसमेत उपयोगविहीन बन्न पुगेको छ।
फोहोर व्यवस्थापन स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएकाले दीर्घकालीन समाधान खोज्नु अत्यावश्यक देखिएको छ। अन्यथा, पर्यटकीय महत्व बोकेको भैरहवाको छवि थप बिग्रने जोखिम बढ्दै गएको छ।

