क्रान्तिको सपना अझै अधुरो : प्रचण्ड
रुकुम पश्चिम,बैशाख २० । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताउनुभएको छ ।
आज मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उहाँले सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर मात्र क्रान्तिको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।
उहाँले समाजवादतर्फको यात्रालाई थप सशक्त बनाउन विभिन्न कम्युनिस्ट समूहहरूलाई एउटै धारमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । “हामी समाजवादको यात्रामा अगाडि बढिरहेका छौँ, त्यसका लागि कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्दै नयाँ चरणको सुरुवात गरेका छौँ,” संयोजक दाहालले भन्नुभयो, “अब बाँकी रहेका कम्युनिस्ट शक्तिलाई पनि एकताबद्ध गर्छौँ।”
पूर्वप्रधानमन्त्री दाहालले पछिल्ला राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्न आवश्यक रहेको औंल्याउनुभयो । उहाँले शान्ति सम्झौता र संविधानसभाको पक्षमा रहेका सबै राजनीतिक दलबीच सहकार्य गरेर मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाइने बताउनुभयो ।

