कान्तिलोकपथमा पहिरो हटाइएपछि यातायात सञ्चालन



मकवानपुर,बैशाख २०— काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका–८ भरेङडाँडामा गएराति गएको पहिरो हटाइएपछि यातायात सेवा पुनः सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज अपराह्नदेखि उक्त सडकखण्डमा दुवैतर्फको सवारी आवागमन सुचारु गरिएको हो।पहिरोका कारण केही समय अवरुद्ध बनेको सडक सफा गरी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम महेन्द्र राजमार्ग तथा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने सडकमा हाल दैनिक सबै प्रकारका सवारी साधन सञ्चालन भइरहेको जानकारी दिनुभयो।

यसैगरी, हेटौँडाबाट वीरगञ्ज, चितवनको नारायणगढ तथा भीमफेदीबाट हेटौँडातर्फ जाने सवारी साधनसमेत नियमित रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायामका कारण सडकमा पुनः पहिरो जान सक्ने सम्भावना रहेको भन्दै सावधानी अपनाउन चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्