रास्वपाको सचिवालय बैठक: पाँच निर्णय सार्वजनिक



काठमाडौँ,बैशाख २०— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार बसेको पार्टी सचिवालय बैठकले विभिन्न समसामयिक र संगठनात्मक विषयमा पाँच महत्वपूर्ण निर्णय गरेको छ। बैठकले विशेषगरी भूमिहीन सुकुम्बासी समस्या समाधानदेखि आगामी निर्वाचन र पार्टी संरचना सुदृढीकरणसम्मका विषयमा निर्णयहरू सार्वजनिक गरेको हो।

बैठकले मुलुकभर रहेका अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न सरकारलाई चाँडै अधिकार सम्पन्न प्राधिकरण गठन गर्न सुझाव दिएको छ। वास्तविक भूमिहीनहरूको समस्या समाधानमा जोड दिँदै रास्वपाले त्रासमा नपर्न नागरिकलाई आग्रह गरेको छ। प्राधिकरणको प्रतिवेदन आउनुअघि भूमिहीन सुकुम्बासी बाहेक अन्यमा कुनै कारबाही नगर्न सरकारलाई सुझाव दिइएको छ। साथै, स्थानीय तहहरूले संरचना भत्काउने क्रममा संवेदनशीलता अपनाउनुपर्ने उल्लेख गर्दै सोही अनुरूप व्यवस्थापन गर्न आग्रह गरिएको छ।

त्यस्तै, आगामी स्थानीय तह निर्वाचनका लागि “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३” पारित गरिएको छ। उक्त रूपरेखा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरिएको छ।

बैठकले पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने पार्टीको ऐतिहासिक पहिलो महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन कार्यविधि–२०८३’ पनि पारित गरेको छ।

यस्तै, बागमती प्रदेश समितिको सिफारिस अनुसार रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट पुनः गठन गर्ने निर्णय समेत बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्