रास्वपाले सुकुम्बासी व्यवस्थापन चैतभित्र टुंग्याउन सरकारलाई  सुझाव



काठमाडौं,बैशाख २० । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूमिहीन सुकुम्बासीको स्थानान्तरण र व्यवस्थित पुनर्स्थापनाको काम आगामी चैत मसान्तभित्र सम्पन्न गर्न सरकारलाई सुझाव दिएको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार रास्वपाले चैत मसान्तभित्र सबै सुकुम्बासीलाई सुरक्षित आवासमा स्थानान्तरण गरी गाँस, वास र स्वास्थ्यको न्यूनतम व्यवस्था सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ ।

सुकुम्बासी व्यवस्थापनको विषय लामो समयदेखि बेवास्ता हुँदै आएको उल्लेख गर्दै प्रवक्ता झाले काठमाडौँ उपत्यकाका खोला किनारमा जोखिमपूर्ण बसोवास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने सरकारी पहल सकारात्मक भएको बताउनुभयो । तर, अधिकारसम्पन्न प्राधिकरण गठन गरी यथार्थ लगत सङ्कलन नगरेसम्म अव्यवस्थित रूपमा डोजर प्रयोग गर्ने कार्य रोक्नुपर्नेमा पार्टीले जोड दिएको छ ।

रास्वपाले अवैध अतिक्रमणका उद्देश्यले निर्माण गरिएका संरचनाबाहेक अन्य स्थानमा जबर्जस्ती हटाउने कार्य तत्काल रोक्न पनि माग गरेको छ । “खोला किनारमा असुरक्षित रूपमा रहेका नागरिकलाई बर्खाको बाढी आउनुअगावै सुरक्षित स्थानमा सार्न जरुरी छ,” प्रवक्ता झाले भन्नुभयो, “त्यसैले चैत मसान्तभित्र व्यवस्थित पुनर्स्थापना गरी कम्तीमा ७५ प्रतिशत काम सम्पन्न गर्न सरकारलाई सुझाव दिएका छौँ ।”

उहाँले यथार्थ लगत उपलब्ध नभएसम्म मानवीय संवेदनालाई ध्यान दिन र हचुवाका भरमा डोजर नलगाउन पनि आग्रह गर्नुभयो । यसैबीच, रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्ने सदस्यले अनिवार्य रूपमा ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड तय गरेको छ । साथै, बैठकले पार्टीको महाधिवेशन गर्ने कार्यविधि पनि पारित गरेको छ । महाधिवेशनको मिति र स्थान भने केन्द्रीय समितिको आगामी बैठकले तय गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्