सांसदलाई पिए सुविधा पुनः दिने तयारी
काठमाडौँ, वैशाख २१ — सङ्घीय संसद् सचिवालयले सांसदलाई स्वकीय सचिव (पिए) सुविधा पुनः उपलब्ध गराउने तयारी सुरु गरेको छ। यसका लागि प्रतिनिधि सभामा रहेका संसदीय दललाई पत्राचार गर्दै आवश्यक परे माग गर्न आग्रह गरिएको छ।
सचिवालयका अनुसार सर्वदलीय छलफल र कार्यव्यवस्था परामर्श समितिको सिफारिसपछि सञ्चालन तथा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो। सोही आधारमा संसदीय दललाई औपचारिक जानकारी गराइएको छ।
यसअघि खर्च कटौती गर्ने उद्देश्यले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदसहित राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज गरेको थियो। तर पछिल्लो समय सांसदबाट पुनः सो सुविधा दिनुपर्ने माग बढ्दै आएको छ।
सचिवालयले सांसदको मागका आधारमा प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने जनाएको छ। मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र त्यहाँबाट निर्णय भएपछि मात्रै सुविधा लागू हुनेछ।
हालको कानुनी व्यवस्थाअनुसार ऐनमा स्वकीय सचिव राख्न पाउने प्रावधान भए पनि अनुसूची संशोधन आवश्यक पर्ने भएकाले मन्त्रिपरिषद्को निर्णय अनिवार्य मानिएको छ।

