निजी विद्यालयको शुल्क मनपरीबारे सरकार कडाइमा, स्थानीय तहसँग आज छलफल



काठमाडौं,बैशाख २१ । निजी विद्यालयले कानुनी मापदण्डविपरीत शुल्क उठाएको गुनासो बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहसँग छलफल गर्ने भएको छ। गृह मन्त्रालयका अधिकारीसमेत सहभागी हुने उक्त छलफल आज सोमबार हुने तय गरिएको छ।

सरकारी निर्णयअनुसार सोमबारदेखि पठनपाठन सुरु हुने भए पनि केही निजी विद्यालयले पहिले नै पढाइ सुरु गरी भर्ना, वार्षिक र मासिक शुल्क असुलिरहेको गुनासो आएको छ।

गुनासो व्यवस्थापनका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रले टेलिफोन र इमेलमार्फत सुनुवाइ डेस्क सञ्चालनमा ल्याएको छ, जहाँ दैनिक सयभन्दा बढी उजुरी आउने गरेको छ।

प्राप्त गुनासोलाई आवश्यकताअनुसार स्थानीय तहमा पठाउने र मन्त्रालयलाई जानकारी गराउने गरिएको छ। साथै, काठमाडौँ र ललितपुरसहितका स्थानीय तहका प्रमुखहरूसँग समग्र शैक्षिक गतिविधिबारे छलफल गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्