मन्त्रिपरिषद्का चार महत्वपूर्ण निर्णय: अध्यादेश पुनः सिफारिसदेखि मल खरिदसम्म
काठमाडौँ,बैशाख २१— सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार महत्वपूर्ण निर्णय गरेको छ। सरकारका निर्णयहरू संवैधानिक प्रक्रिया, आर्थिक सहयोग, कृषि क्षेत्र तथा पूर्वाधार व्यवस्थापनसँग सम्बन्धित रहेका छन्।
बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३ सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको सन्दर्भमा उक्त अध्यादेश पुनः जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ। यससँगै सरकार अध्यादेश अघि बढाउने आफ्नो अडानमा कायम देखिएको छ।
त्यस्तै, सरकारले विश्व बैंकबाट ५२ मिलियन अमेरिकी डलर सहुलियत ऋण र ५ मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। उक्त सहयोग विभिन्न विकास परियोजनामा खर्च गरिने जनाइएको छ।
कृषि उत्पादन वृद्धि र मल अभाव समाधानका लागि सरकारले भारतबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई स्वीकृति दिएको छ।यस निर्णयले किसानलाई समयमै मल उपलब्ध गराउने अपेक्षा गरिएको छ।
यस्तै, बैठकले सिंहदरबार परिसरको गुरुयोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यस योजनाले सरकारी संरचनाहरूको व्यवस्थित विकास, विस्तार तथा दीर्घकालीन व्यवस्थापनमा टेवा पुग्ने विश्वास गरिएको छ।

