दोस्रो चरणको आर्थिक सुधारमार्फत रूपान्तरण तीव्र बनाउन महासङ्घ अध्यक्ष ढकालको आग्रह
काठमाडौँ, वैशाख २१ — नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको छ।
महासङ्घको ६०औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विगतका चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने प्रयास सफल हुँदै गएको उल्लेख गर्नुभयो। “हामीले निराशालाई आशामा बदल्ने प्रयास गरेका छौँ, धेरै क्षेत्रमा सफल पनि भएका छौँ,” उहाँले भन्नुभयो।
ढकालले पछिल्लो राजनीतिक परिवर्तनपछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक सङ्केत भएको बताउँदै झन्डै दुई तिहाइ समर्थनलाई नीतिगत स्थायित्व र विकासमा प्रयोग गर्न आग्रह गर्नुभयो।
निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि महासङ्घको पहलमा पारित रणनीतिप्रति सरकारको प्रतिबद्धतालाई स्वागत गर्दै उहाँले निजी उद्यमीलाई नीतिगत सुरक्षाको प्रत्याभूति आवश्यक रहेको धारणा राख्नुभयो।
दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आयोगका सुझाव कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले आवश्यक कानुनी संशोधन, परिमार्जन र खारेजी प्रक्रिया तीव्र बनाउन आग्रह गर्नुभयो ।ढकालले नेपालमा ठूलो आर्थिक अवसर रहेको उल्लेख गर्दै राजनीतिक स्थायित्वलाई विकास र रोजगारी सिर्जनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँका अनुसार निजी क्षेत्रलाई सम्मानित र सुरक्षित वातावरणमा काम गर्न दिइए तीव्र आर्थिक प्रगति सम्भव छ।
नेपालको औसत उमेर करिब २५ वर्ष रहेको र भारत तथा चीनजस्ता ठूला बजारको नजिक हुनु अवसरका रूपमा रहेको उहाँको भनाइ छ। विकसित मुलुकमा भन्साररहित पहुँचका कारण नेपाली उत्पादन विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने उनले बताए।
देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा हरेक वर्ष करिब सात लाख युवा विदेशिन बाध्य भएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले उच्च ज्यालासहितको रोजगारी सृजना आवश्यक रहेको बताउनुभयो।
मध्यपूर्वमा देखिएको पछिल्लो सङ्कटले पर्यटन, रेमिट्यान्स र इन्धन लागतमा असर पार्दै अर्थतन्त्रमा जोखिम बढाएको उल्लेख गर्दै उहाँले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने धारणा राख्नुभयो। हाल देशको कुल रोजगारीमध्ये करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरिरहेको उल्लेख गर्दै ढकालले लगानीमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो।
बङ्गलादेश, रुवान्डा, कम्बोडिया, भियतनाम र लाओसजस्ता मुलुकको उदाहरण दिँदै उहाँले निजी क्षेत्रलाई प्रोत्साहनमार्फत तीव्र आर्थिक प्रगति हासिल गर्न सकिने बताए।
ढकालले लगानी वृद्धि, प्रविधिको प्रयोग, सदाचार प्रवर्द्धन र उत्पादनमूलक क्षेत्र विस्तारमार्फत आर्थिक सुधार अघि बढाउनुपर्नेमा जोड दिँदै सरकार–निजी क्षेत्र सहकार्यबाट मुलुकको आर्थिक विकासलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गर्नुभयो।

