मुख्यमन्त्री बानियाँको घरमै छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र
काठमाडौँ ,बैशाख २१— बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निवास तथा निजी कार्यालयमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छापा मारेको छ। विभागको टोलीले सोमबार एकै समयमा बानियाँको घरसँगै उनका दुई निजी कार्यालयमा छानबिन थालेको स्रोतले जनाएको छ।
प्राप्त जानकारी अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित ठेक्कामा प्रयोग हुने मोबिलाइजेसन रकम दुरुपयोग भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो। उक्त रकम शेयर खरिदमा प्रयोग गरिएको प्रारम्भिक तथ्य भेटिएपछि विभागले सक्रियता बढाएको बताइएको छ।
निर्माण व्यवसायीसमेत रहेका बानियाँसँग सम्बन्धित कम्पनीले ठेक्का बापत प्राप्त रकमबाट शेयर लगानी गरेको देखिएपछि यो विषय थप गम्भीर बनेको हो। यससँगै उनका कम्पनीहरूले लिएका केही सडक आयोजनाहरू अलपत्र तथा रुग्ण अवस्थामा रहेको पनि स्रोतको दाबी छ।
सरकारले हालै अध्यादेशमार्फत सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन गरेलगत्तै विभागले उच्च तहका व्यक्तिमाथि अनुसन्धान तीव्र बनाएको छ। सोही क्रममा मुख्यमन्त्री बानियाँ पनि अनुसन्धानको दायरामा तानिएका हुन्।
बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति, प्रदेश संसदीय दलका नेता तथा हालका मुख्यमन्त्रीसमेत हुन्। घटनाबारे आधिकारिक धारणा आउन बाँकी छ।

