घरको छतबाट खसेर मजदुरको मृत्यु
बैतडी,बैशाख २१— बैतडीको शिवथान गाउँपालिका–६, सुल्लेखानमा घरको छतबाट खसेर एक मजदुरको ज्यान गएको छ। मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–४ स्थायी घर भएका ६५ वर्षीय जगतराम थारू रहेका छन्।
थारू पाटन–पञ्चेश्वर सडक खण्डमा कार्यरत मजदुर थिए। उनी सुल्लेखानस्थित उद्धवसिंह धनाडीको घरमा भाडामा बस्दै आएका थिए। सोही घरमा उनका भतिज गुरीलाल थारू पनि सँगै बस्दै आएका थिए।
प्रारम्भिक जानकारी अनुसार सोमबार बिहान करिब ३ देखि ४ बजेको समयमा बाथरुम जाने क्रममा छतबाट लड्दा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको टोलीले आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रहरी निरीक्षक बल्देव बडुले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

