प्रधानमन्त्री सचिवालयद्वारा सञ्चारकर्मी अवरोधसम्बन्धी समाचारको खण्डन
काठमाडौँ, वैशाख २२— प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सचिवालयले उक्त घटनाको वास्तविकता स्पष्ट पार्दै सञ्चारमाध्यममा आएका विवरणलाई अतिरञ्जित रूपमा प्रस्तुत नगर्न आग्रह गरेको छ।सचिवालयद्वारा सोमबार जारी प्रेस नोटअनुसार, प्रधानमन्त्री वालेन्द्र शाह कार्यालय प्रवेश गर्ने क्रममा परिसरभित्र सवारीसाधनको अत्यधिक भीडभाड देखिएपछि व्यवस्थापन र सुरक्षा सतर्कताबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा मात्र राख्नुभएको थियो। उक्त जिज्ञासा सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग सम्बन्धित रहेको उल्लेख गरिएको छ।
प्रेस नोटमा प्रधानमन्त्रीले सञ्चारकर्मीलाई हटाउन वा भिडियो खिच्न रोक्न कुनै निर्देशन नदिएको स्पष्ट पारिएको छ। तर, प्रधानमन्त्री कार्यकक्षमा प्रवेश गरिसकेपछि गेटमा रहेका केही सुरक्षाकर्मीले सञ्चारकर्मीलाई हट्न भनेको भन्ने गुनासो प्राप्त भएको सचिवालयले स्वीकार गरेको छ।
सचिवालयका अनुसार, उक्त जानकारी प्राप्त हुनासाथ सम्बन्धित निकायसँग समन्वय गरी सञ्चारकर्मीलाई उपलब्ध गराइएको पहुँचमा कुनै कटौती वा निषेध नगरिएको जानकारी गराइएको थियो। साथै, सूचना संकलन र रिपोर्टिङका लागि अनुमति प्राप्त स्थानमा सञ्चारकर्मीलाई कुनै अवरोध नभएको र भविष्यमा पनि नहुने स्पष्ट गरिएको छ।
सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित प्राविधिक विषयलाई प्रेसमाथिको ‘अंकुश’ वा ‘अवरोध’ का रूपमा प्रस्तुत नगर्न सचिवालयले आग्रह गरेको छ। साथै, सरकारले प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक तथा संविधानप्रति पूर्ण प्रतिबद्धता जनाउँदै सञ्चार क्षेत्रसँग सहकार्य, पारदर्शिता र सुमधुर सम्बन्ध कायम राख्ने प्रतिबद्धता दोहोर्याएको छ।

