नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी
काठमाडौं, वैशाख २२— बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। मुलुककै पहिलो आधुनिक सुरुङमार्गका रूपमा रहेको यस आयोजनाको जेठ अन्तिमदेखि परीक्षण (ट्रायल) सुरु गरी साउन दोस्रो सातादेखि व्यावसायिक रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ।
प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार आयोजना स्थलको अनुगमन गरेको थियो। सो क्रममा आयोजना प्रमुख सौजन्य नेपालले सुरुङमार्ग सञ्चालनको समयरेखा सार्वजनिक गर्नुभएको हो।
उहाँका अनुसार सुरुङमार्गको भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ। अब निर्माण कम्पनीले छिट्टै नेपाल सरकारलाई आयोजना हस्तान्तरण गर्ने तयारी गरिरहेको छ। सुरुङमार्ग सञ्चालनमा ढिलाइ हुनुको कारणबारे जानकारी दिँदै आयोजना प्रमुख नेपालले २०८२ सालको साउन–भदौमा परेको भारी वर्षाका कारण पश्चिमी पोर्टल क्षेत्रमा गएको पहिरोले टोल बुथ निर्माणमा क्षति पुर्याएको र यसले काम प्रभावित भएको बताउनुभयो।
परामर्शदाता प्रमुख रमेश कोइरालाका अनुसार कानुनी प्रक्रिया, बन्द–हडताल तथा सञ्चालन मोडालिटी परिवर्तनका कारण पनि ढिलाइ भएको हो। सुरुमा सडक विभागले नै सञ्चालन गर्ने योजना रहे पनि पछि प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्ने निर्णय हुँदा प्रक्रिया लम्बिएको उहाँको भनाइ छ।
सुरुङमार्ग सञ्चालनका लागि चीनको युसिन–एआरटी कम्पनीसँग पाँच वर्षका लागि ठेक्का सम्झौता भइसकेको छ। हाल उक्त कम्पनीले आवश्यक जनशक्ति व्यवस्थापन र तालिमको काम गरिरहेको छ।आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनका लागि करिब १५० जना जनशक्ति आवश्यक पर्नेछ।
परीक्षण सफल भएपछि सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने र यसले राजधानी प्रवेश–निर्गमनको यात्रा सहज बनाउने अपेक्षा गरिएको छ।

