भोलि देशभर वर्षा र चट्याङको सम्भावना



काठमाडौं,बैशाख २२— जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा ले बुधबार देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ। हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणाली सक्रिय रहेको छ।

आज (मङ्गलबार) राति कोशी र मधेस प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशसहित हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै अन्य स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।

यस्तै, बिहीबार पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्