“गुमनाम वीरहरूको कथा उजागर गर्दै ‘अज्ञात’ सार्वजनिक”
काठमाडौँ,बैशाख २३ — साहित्यकार केशवराज ज्ञवालीको नयाँ उपन्यास ‘अज्ञात’ सार्वजनिक गरिएको छ।
काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो। कार्यक्रममा लेखक मोहन मैनाली र लेखक ज्ञवालीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए।
कार्यक्रममा पद्मश्री साहित्य पुरस्कार विजेतासमेत रहेका ज्ञवालीले गोर्खा राज्यको विस्तार नेपालको वर्तमान भूगोल निर्धारण गर्ने महत्वपूर्ण ऐतिहासिक घटना भएको उल्लेख गरे। उनले त्यस क्रममा योगदान गरेका तर इतिहासमा गुमनाम रहेका पात्रहरूको कथा उपन्यासमा समेटिएको बताए।
इतिहास लेखन र अध्ययनमा प्रायः राजा र सेनानायकहरूको मात्र चर्चा हुने गरेको भन्दै उनले आम मानिसहरूको भूमिका ओझेलमा परेको टिप्पणी गरे। “हाम्रा पुर्खाहरू संलग्न भएको लडाइँ केवल सेनानायकहरूको मात्र होइन, भुइँमान्छेहरूको पनि थियो,” उनले भने, “त्यसैले उनीहरूको कथा ‘अज्ञात’ मार्फत प्रस्तुत गर्ने प्रयास गरेको हुँ।”
लेखक ज्ञवालीका अनुसार आम मानिसहरूको बलिदान र संघर्षकै आधारमा बनेको देशको सीमाले कस्ता कठिनाइ र इतिहासका पाटा बोकेको छ भन्ने विषयमा पुस्तकले प्रकाश पार्नेछ।

