“युद्धविराम माग्दै आक्रमण जारी—रुसमाथि जेलेन्स्कीको ‘पूर्ण सनकीपन’ आरोप”
किएभ,बैशाख २३— युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसमाथि कडा आरोप लगाउँदै क्षेप्यास्त्र तथा ड्रोन आक्रमणलाई ‘पूर्ण सनकीपन’को संज्ञा दिएका छन्। उनले मस्कोले आगामी मे ९ मा आयोजना गर्न लागेको विजय दिवस परेडका लागि युद्धविरामको माग गर्नु विरोधाभासपूर्ण भएको बताएका छन्।
मस्को र किएभले यस हप्ता फरक–फरक मितिमा अस्थायी युद्धविरामको घोषणा गरे पनि त्यसबीच नै आक्रमण र प्रतिआक्रमण जारी रहँदा दुवैतर्फ मानवीय क्षति भएको छ। रुसले मे ९ को दोस्रो विश्वयुद्ध विजय दिवसका अवसरमा युद्धविराम लागू गर्ने घोषणा गरेको छ भने युक्रेनले मे ६ देखि गोलीबारी रोक्ने जनाएको छ।
जेलेन्स्कीले एक वक्तव्य जारी गर्दै भने, “यस्तो क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू जारी राख्दै प्रचारात्मक उत्सवका लागि युद्धविरामको माग गर्नु पूर्ण सनकीपन हो।” उनले रुसले चाहेमा कुनै पनि क्षण युद्धविराम गर्न सक्ने भए पनि आक्रमण रोक्न अस्वीकार गरिरहेको आरोप लगाए।
रुसको विजय दिवस परेड सामान्यतया सैन्य शक्तिको प्रदर्शनका रूपमा चिनिन्छ। सन् २०२२ पछि युक्रेनमाथिको आक्रमणलाई दोस्रो विश्वयुद्धको ऐतिहासिक विजयसँग जोडेर प्रस्तुत गर्ने प्रयास हुँदै आएको छ। तर यस वर्ष सम्भावित युक्रेनी आक्रमणको जोखिमका कारण परेडको आकार घटाइएको र सैन्य हार्डवेयर प्रदर्शन नगर्ने निर्णय गरिएको बताइएको छ।
यसैबीच, युक्रेनले पछिल्ला हप्तामा लामो दूरीका प्रतिआक्रमण तीव्र बनाएको छ। मस्कोका तेल संरचना र एक उच्च भवनलाई लक्षित गरिएका आक्रमणहरूलाई रुसले युक्रेनी सहरहरूमा भएको हमलाको प्रतिउत्तरका रूपमा व्याख्या गरेको छ।
पोल्टावा क्षेत्रमा भएको पछिल्लो रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। मृतकमध्ये ऊर्जा कम्पनी नाफ्तोगाजका तीन कर्मचारी र दुई उद्धारकर्मी रहेका छन्। युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिगाले उक्त आक्रमणलाई ‘अमानवीय रणनीति’ भन्दै निन्दा गरेका छन्। उनका अनुसार उद्धारका लागि पुगेका टोलीलाई समेत लक्षित गरी गरिएको दोहोरो प्रहारले आक्रमणलाई अझ क्रूर बनाएको छ।
उत्तरपूर्वी खार्किभ क्षेत्रमा भएको अर्को आक्रमणमा पनि एक जनाको मृत्यु भएको छ। युक्रेनका अधिकारीहरूका अनुसार रुसले देशभर ११ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र १६४ वटा ड्रोन प्रहार गरेको छ। उता रुसको रक्षा मन्त्रालयले ३०० भन्दा बढी युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ।
युद्धविरामको घोषणा भए पनि युद्ध अन्त्य हुने कुनै संकेत देखिएको छैन। यसअघि इस्टर पर्वका बेला पनि छोटो समयका लागि आक्रमण रोकिएको थियो। रुसले युक्रेनलाई पूर्वी डोनबास क्षेत्रबाट सेना फिर्ता लिन र पश्चिमी सैन्य सहयोग त्याग्नुपर्ने शर्त राख्दै आएको छ, जसलाई किएभले आत्मसमर्पणसरह भन्दै अस्वीकार गरेको छ।
युद्ध अध्ययन संस्थानका अनुसार पछिल्ला महिनामा रुसले कब्जा गरेको भन्दा बढी क्षेत्र गुमाएको देखिएको छ, जुन सन् २०२३ यता पहिलो पटक हो। दोस्रो विश्वयुद्धपछि युरोपकै सबैभन्दा ठूलो र रक्तपातपूर्ण मानिएको यो द्वन्द्वले लाखौँको ज्यान लिएको र करोडौँलाई विस्थापित गरेको छ।

