निजामती विधेयक ‘फास्ट ट्र्याक’मा: ४५ दिनमै संसद्मा लैजाने तयारी



काठमाडौँ, वैशाख २३ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मसौदा तोकिएको समयसीमाभित्र तयार गरी संसद्मा पेस गर्ने प्रक्रिया तीव्र बनाएको छ। शासकीय सुधारअन्तर्गत ४५ दिनभित्र मसौदा तयार गर्ने लक्ष्य राख्दै काम अघि बढाइएको हो।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्राप्त सुझाव समेटेर छिट्टै मन्त्रीपरिषद्मा पेस गर्ने तयारी गरेको जनाएको छ। मन्त्रीपरिषद्को निर्णयपछि मसौदा लोक सेवा आयोगमा परामर्शका लागि पठाइनेछ।

आयोगको राय प्राप्त भएपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सुझाव लिएर पुनः मन्त्रीपरिषद्मा निर्णय गराइने र त्यसपछि विधेयक संसद्मा दर्ता गरिने प्रक्रिया अघि बढ्नेछ।

मसौदामा अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्‍याउने, सचिवको कार्यकाल दुई वर्षमा सीमित गर्ने र दुई वर्षको ‘कुलिङ पिरियड’ लागू गर्ने प्रस्ताव समेटिएको छ। साथै सेवा प्रवाह सुधार गर्न प्रत्येक कार्यालयमा गुनासो सुनुवाइ व्यवस्था गर्ने प्रावधान पनि राखिएको छ।

मन्त्रालयका अनुसार मसौदामा एक साताभित्र करिब नौ हजार सुझाव प्राप्त भएका छन्। ती सुझाव समेटेर अन्तिम रूप दिन काम भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्