‘उद्धारपछि नै ठगीमा संलग्न’ : दक्षिण–पूर्व एसियामा नेपाली फसाउने गिरोह सक्रिय
काठमाडौँ, वैशाख २३ । कम्बोडिया, थाइल्यान्ड, म्यानमार र लाओसमा अनलाइन ठगीमा फसेर उद्धार भएका केही नेपाली नै फेरि अरूलाई त्यता पठाउने गिरोहमा संलग्न रहेको खुलेको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार राम्रो कामको प्रलोभनमा भिजिट भिसामा लैजाने र अवैध अनलाइन केन्द्रमा बन्धक बनाएर काम गराउने प्रवृत्ति बढ्दो छ।
ब्युरो प्रमुख कृष्णप्रसाद पङ्गेनीका अनुसार हालै कम्बोडियामा करिब दुई सय नेपालीलाई एउटै कोठामा थुनेर राखिएको घटना समेत पुष्टि भएको छ। अनुसन्धानका क्रममा उद्धार भएर फर्किएका केही व्यक्तिहरू नै पुनः मानव ओसारपसारमा संलग्न भएको पाइएको छ।
पछिल्लो दुई वर्षमा यस्ता घटनामा संलग्न करिब ३५ जनालाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ। पीडितलाई अनलाइन ठगीमा लगाउने, नमाने बन्धक बनाएर परिवारबाट पैसा मगाउने र अरूलाई फसाउन बाध्य पार्ने जस्ता गतिविधि हुने गरेको खुलासा भएको छ।
सरकारले हालसम्म ६१२ जना नेपालीलाई उद्धार गरेको छ, जसमा सबैभन्दा बढी कम्बोडियाबाट ४८७ जना छन्। अझै केही नेपालीको खोजी तथा उद्धार जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।सरकारले अवैध रूपमा विदेश जान नहुने र श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सर्वसाधारणलाई आग्रह गर्दै सचेतना अभियान तीव्र बनाएको छ।

